लक्ष्मीप्रसाद देवकोटा १. दिइएका शब्द र तिनका अर्थबिच जोडा मिलाउनुहोस् : शब्द अर्थ युगपुरुष ➡ कुनै निश्चित समयसीमाभित्...
१. दिइएका शब्द र तिनका अर्थबिच जोडा मिलाउनुहोस् :
शब्द अर्थ
युगपुरुष ➡ कुनै निश्चित समयसीमाभित्र महान् व्यक्तित्व स्थापित गर्न सफल व्यक्ति
नक्षत्र ➡ ज्योतिष शास्त्रअनुसार मानिसका असल खराब अवस्थाका स्थापक
धडाधड ➡ चाँडो चाँडो काम सिध्याउने गरी, सरासर, धमाधम
प्रज्वलित ➡ एकदम बलेको, दन्केको
२. अनुच्छेदमा रेखाङ्कन गरिएका सङ्क्षिप्त शब्दका पूरा रूप लेखी पुनर्लेखन गर्नुहोस् :
राष्ट्रिय समाचार समितिका पत्रकार मोहन प्रधानमन्त्रीको अन्तर्वार्ता लिएर घर गए । उनकी श्रीमती रमा जनता माध्यमिक विद्यालयमा प्रधानाध्यापक थिइन् । विद्यालय व्यवस्थापन समितिको बैठक सकेर निस्कँदा उनलाई ढिलो भएछ । बाटामा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक दावासँग र प्रमुख जिल्ला अधिकारी रमेशसँग रमाको भेट भएछ । उनीहरू एकछिन कुराकानी गरेर आआफ्ना घरतिर लागेछन् । रमा घर पुग्दा पत्रकार मोहन गोरखापत्रमा प्रकाशित समाचार पढेर बसेका रहेछन् ।
३. दिइएको अनुच्छेदबाट कुनै तीनओटा सिङ्गो शब्द पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :
देवकोटाले जे लेखे र जुन जुन जिम्मेवारी पाए, प्रायः ती सबैमा उनले राष्ट्रको हितमा काम गरेर आफ्नो अब्बलता प्रदर्शन गरे । देवकोटा आफूले हात हालेका हरेक क्षेत्रमा एक असल व्यक्तित्वका रूपमा चिनिए । उनका चेला आज पनि उनी जस्तो शिक्षक र प्राध्यापकसँग तुलनीय व्यक्ति भेट्न नसकेको कुरा गर्छन् । शिक्षामन्त्री हुँदा नेपाली भाषालाई पठनपाठनमा अनिवार्यविषयका रूपमा लागु गर्ने गराउने कार्यमा उनैको विशेष पहलकदमी रह्यो । तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको स्थापनामा सक्रिय संलग्न भएर संस्थागत रूपमा साहित्य र संस्कृतिको विकासको ढोका खोल्ने कार्यमा उनको योगदान चिरस्मरणीय रहेकै छ । त्रिभुवन विश्वविद्यालय कहाँ रहने भन्ने स्थान चयन पनि उनीबाटै भयो । उनी एक यस्ता मोती हुन् जसले जुन क्षेत्रलाई स्पर्श गरे त्यस क्षेत्रलाई झन् झन् चम्काइदिए ।- प्राध्यापक (प्रा) ➡ मेरो विश्वविद्यालयमा प्राध्यापक बनेर शिक्षण गर्ने लक्ष्य छ।
- नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ➡ मेरो मामा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा जागिरे हुनुहुन्थ्यो ।
- त्रिभुवन विश्वविद्यालय (त्रिवि) ➡ म स्नातकोत्तर त्रिभुवन विश्वविद्यालयमा पढ्ने छु ।
४. दिइएका पद पदावलीलाई आशय खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :
- पठनपाठन ➡ विद्यार्थीहरू बिधालयमा पठनपाठन गर्न जान्छ ।
- देहावसान हुनु ➡ लक्ष्मी प्रसाद देवकोटाको ५० वर्षको उमेरमा देहावसान भएको थियो ।
- मन्त्रमुग्ध पार्नु ➡ कृष्णले बाँसुरी बजाएर सबैलाई मन्त्रमुग्ध पारे ।
- स्वर्णकाल ➡ धेरै मान्छेहरु बाल्यकाललाई नै जीवनको स्वर्णकाल मान्छन् ।
- भुलभुलैया ➡ माया प्रेम भन्ने कुरा पनि दुई दिनको भुलभुलैया रहेछ ।
- नवजात शिशु ➡ नवजात शिशुलाई राम्रो स्याहार चाहिन्छ ।
बोध र अभिव्यक्ति
३. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :
(क) ‘लक्ष्मीप्रसाद देवकोटा' जीवनीमा देवकोटाको बाल्यकालको वर्णन कुन अनुच्छेदमा गरिएको छ ?➡ ‘लक्ष्मीप्रसाद देवकोटा' जीवनीमा देवकोटाको बाल्यकालको वर्णन दोस्रो अनुच्छेदमा गरिएको छ ।
(ख) जीवनीको अन्तिम अनुच्छेदको सार वाक्य कुन हो ?
➡ जीवनीको अन्तिम अनुच्छेदको सार वाक्य 'उनको पार्थिव शरीर यस धर्तीमा नरहे पनि उनी आफ्ना अमूल्य कृतिमा अनवरत बाँचेका छन् र अमर बनेका छन्' हो।
(ग) जीवनीमा देवकोटाको जीवनका कठिन क्षणको वर्णन कुन सन्दर्भपछि आएको छ ?
➡ देवकोटाको जीवनका कठिन क्षणको वर्णन उनको संलग्नता र योगदानको सन्दर्भपछि आएको छ ।
(घ) देवकोटाका कृतिसम्बन्धी वर्णन जीवनीको कतिऔं अनुच्छेदमा छ ?
➡ देवकोटाका कृतिसम्बन्धी वर्णन जीवनीको छैटौं अनुच्छेदमा छ ।
४. दिइएको अनुच्छेद मौन पठन गर्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
प्रश्नहरू
(क) देवकोटाको निबन्ध सङ्ग्रहको नाम के हो ?
➡ देवकोटाको निबन्ध सङ्ग्रहको नाम 'लक्ष्मी निबन्ध सङ्ग्रह' र 'दाडिमको रुखनेर' हो ।
(ख) देवकोटा प्रसिद्ध महाकाव्य कुन कुन हुन् ?
➡ देवकोटा प्रसिद्ध महाकाव्य 'शाकुन्तल', 'सुलोचना', 'महाराणा प्रताप प्रमिथस' आदि हुन् ।
(ग) देवकोटाले कुन कृतिमार्फत लोकभाकालाई शिखरमा पुयाए ?
➡ देवकोटाले 'मुनामदन' मार्फत् लोकभाकालाई शिखरमा पुऱ्याए ।
(घ) देवकोटा किन सर्वोत्कृष्ट नेपाली साहित्यकारका रूपमा परिचित छन् ?
➡ देवकोटाले आफ्नो जीवन अवधिमा प्रशस्त र गहकिला कविता, खण्डकाव्य, महाकाव्य, निबन्ध आदि रचना गरेकाले नेपाली साहित्यमा सर्वोत्कृष्ट कविका रूपमा प्रख्यात छन्।
५. .दिइएका घटना सन्दर्भ कुन कुन सालमा भएका हुन्, जीवनीका आधारमा लेख्नुहोस् :
- (क) लक्ष्मीप्रसाद देवकोटाको जन्म : वि.सं. १९६६
- (ख) मनदेवी चालिसेसँग विवाह : वि.सं. १९८१
- (ग) म्याट्रिकुलेसन परीक्षा उत्तीर्ण : वि.सं. १९८२
- (घ) आइएस्सी परीक्षा उत्तीर्ण : वि.सं. १९८५
- (ङ) अङ्ग्रेजी पढ्न दरबार हाइस्कुलमा भर्ना : वि.सं. १९७७
- (च) अफ्रो एसियाली लेखक सम्मेलनमा सहभागी : वि.सं. २०१५
- (छ) डा. के.आई. सिंहको मन्त्रिमण्डलमा शिक्षामन्त्रीमा नियुक्त : वि.सं. २०१३
६. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) लक्ष्मीप्रसाद देवकोटाको व्यक्तिगत जीवनमा कस्ता कस्ता उतारचढाव आए, उनको जीवनीका आधारमा लेख्नुहोस् ।
➡ लक्ष्मीप्रसाद देवकोटाले जीवनमा पारिवारिक, स्वास्थ्य र आर्थिक क्षेत्रमा समस्या भोग्नुपयो । देवकोटाले २५-२६ वर्षको उमेरमा बुबा, आमा र छोरी गुमाउनु पयो । उनले जीवनमा 'पागल' को संज्ञा पनि खेप्नुपर्यो । देवकोटालाई क्यान्सर रोगले सतायो । एकातिर क्यान्सरको सहनै नसकिने पीडा र अर्कातिर उपचारको आर्थिक सङ्कटले देवकोटालाई प्रताडित गयो । लक्ष्मीपूजाका दिन जन्मे पनि जीवनभर उनलाई लक्ष्मीले उपेक्षा गरिन् । यसरी उनको जीवनमा अनेकौँ उतारचढाव आएको बुझ्न सकिन्छ ।(ख) देवकोटामा रहेको देशप्रेम र क्रान्ति चेतनाको वर्णन गर्नुहोस् ।
➡ नेपालको प्रकृति, नेपाली धर्ती, नेपाली संस्कृति र नेपाली भाषा साहित्यलाई मुटुदेखि नै माया गर्दै साहित्य सिर्जना गर्ने देवकोटा नेपाली साहित्यका युगपुरुष हुन् । उनी बिरामी भएर भारतमा उपचार गराउँदा विदेशमा बसेर मर्नुभन्दा आफ्नै देशमा बसेर सक्दो सेवा गर्ने विचार लिएर काठमाडौँ आए । देवकोटाले जे लेखे र जुन जुन जिम्मेवारी पाए, प्रायः ती सबैमा उनले राष्ट्रको हितमा काम गरे । नेपाली भाषा साहित्यलाई विश्वसामु प्रभावकारी ढङ्गले चिनाए । त्यसैगरी उनको प्रतिभा राणाहरूको निरङ्कुशतामा पनि मुर्झाएन, जहिलेसुकै फक्रिरह्यो, फुलिरह्यो । मुलुकमा जति वेला प्रजातन्त्र प्राप्तिका लागि क्रान्तिको आगो सल्कँदै थियो, त्यति बेला उनले पनि विद्रोहको बाटो समाते । उनी प्रजातान्त्रिक आन्दोलनमा संलग्न भए । उनी बनारसबाट निस्किने 'युगवाणी' पत्रिकामार्फत् निरङ्कुशता विरुद्ध विद्रोहको वाणी फुके ।(ग) देवकोटालाई आशुकविका रूपमा चिनाउनुहोस् ।
➡ आशुकवि भनेर छिटो कविता रच्न सक्ने कविलाई बुझिन्छ । उनी कुरा गर्दागर्दै कविता लेख्न सक्थे र कवितै कवितामा कुराकानी गर्न सक्थे । उनले तीन महिनामा 'शाकुन्तल' महाकाव्य, १० दिनभित्रका ६० घण्टामा 'सुलोचना' महाकाव्य र एकै रातमा ‘कुञ्जिनी' खण्डकाव्य लेखेका थिए । उनी हिँड्दा हिँड्दै, बस्दा बस्दै धारा प्रवाह कविता लेखिदिन्थे । उनले कुनै दृश्य वा घटनालाई तत्काल कवितामय भाषामा उत्कृष्ट वर्णन गर्न सक्थे । त्यसैले उनलाई आशुकवि मान्न सकिन्छ ।(घ) 'लक्ष्मीप्रसाद देवकोटा' को जीवनीबाट कस्तो सन्देश पाइन्छ, लेख्नुहोस् ।
➡ देवकोटा एक यस्ता मोती थिए जसले, जुन क्षेत्रलाई स्पर्श गरे त्यस क्षेत्रलाई चम्काइदिए । पारिवारिक वियोग, चरम आर्थिक अभाव र प्रतिकूल राजनैतिक अवस्थामा पनि उच्च स्तरका साहित्य रचना गरेका थिए । हामी पनि प्रतिकूल अवस्था भए पनि लक्ष्यमा अग्रसर हुनुपर्छ । आफ्नो देशलाई माया गर्नुपर्छ अनि समाज र राष्ट्रको सेवामा तल्लीन रहनुपर्छ । आफ्नो भाषा र साहित्यलाई विश्वमा चिनाउनुपर्छ । आफ्नो क्षमतालाई चिनेर अगाडि बढ्ने मानिस सफल मान्छे बन्न सक्छ । यसरी मानवताको भाव बोकेर समाजका कुनै न कुनै क्षेत्रमा विशेष योगदान पुयाउन सक्नुपर्छ भन्ने सन्देश उनको जीवनीबाट पाउन सकिन्छ ।७. व्याख्या गर्नुहोस् :
(क) देवकोटाको महासागर जस्तो प्रतिभा राणाहरूको निरङ्कुशताको साँघुरो सुरुङभित्र कसरी बग्न सक्थ्यो र ?
➡ माथिको वाक्यांश 'लक्ष्मीप्रसाद देवकोटा' जीवनी पाठबाट उद्धृत गरिएको हो । जतिबेला देवकोटाको कलमको जादु सुरु भयो, त्यतिबेला नेपालमा राणाहरूको निरङ्कुश शासन चलिरहेको थियो । खुलेर साहित्य सिर्जना गर्न नपाइएको त्यो प्रतिकूल समयमा उनको साहित्यकार व्यक्तित्व कहिल्यै मुर्झाएन, जहिलेसुकै फक्रिरह्यो, फुलिरह्यो । उनको कलम साँघुरो सुरुङभित्र सीमित रहेन ।मुलुकमा जति वेला प्रजातन्त्र प्राप्तिका लागि क्रान्तिको आगो सल्कँदै थियो, त्यति बेला उनले पनि विद्रोहको बाटो समाते । उनी वि.सं. २००४ मा प्रजातान्त्रिक आन्दोलनमा संलग्न भए । उनले बनारसबाट प्रकाशित हुने 'युगवाणी' पत्रिकामार्फत् निरङ्कुशता विरुद्ध युगले चाहेको विद्रोहको वाणी फुके । उनकै पालामा र उनको पनि संलग्नतामा काठमाडौँमा पुस्तकालय खोली जनतामा राणाविरोधी चेतना फैलाउन खोज्दा राणाहरुद्वारा लाईब्रेरी पर्व पनि घटाइएको थियो । यस्तो अवस्थामा पनि बिजुली वेगमा अनवरत साहित्य रचना गर्ने देवकोटाले सङ्ख्यात्मक र गुणात्मक रूपले सर्वाधिक कृति रचना गरेर नेपाली साहित्यलाई समृद्ध तुल्याएका छन् । स्वच्छन्दतावादी कविको विशेषता बोकेका कवि देवकोटाले निरङ्कुश शासन व्यवस्था हुँदा पनि स्वच्छन्द बनेर सिर्जनामा लागिरहे । राणाहरुको धरपकड, डर धम्की र त्रासका बाबजुद पनि यो तह र सङ्ख्यामा साहित्य सिर्जना गर्नुले देवकोटाको प्रतिभा नरोकिएको स्पष्ट हुन्छ । जसरी महासागरको पानी साँघुरो सुरुङभित्र बग्न सक्दैन, त्यसरी नै राणाहरूको निरङ्कुशताभित्र देवकोटाको प्रतिभा सीमित हुन सकेन । उनको प्रतिभा विश्वभर फैलियो र नेपाली साहित्यले विश्व साहित्यकै हाराहारीको प्रौढताको शिखर छुन पुग्यो ।
(ख) हिउँको माझमा जन्मेको हाम्रो साहित्य कहिल्यै पनि एउटै पर्वत शृङ्खलाको भुलभुलैयामा बिलाउने छैन ।
➡ माथिको वाक्यांश 'लक्ष्मीप्रसाद देवकोटा' जीवनी पाठबाट उद्धृत गरिएको हो । वि. सं. २०१५ मा तत्कालीन सोभियत संघमा भएको ‘अफ्रो एसियाली लेखक सम्मेलन' मा भाग लिँदा उनले यो महत्त्वाकाङ्क्षी विचार प्रस्तुत गरेका थिए ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रतिभा विश्वभर फैलिएको थियो र नेपाली साहित्यले विश्व साहित्यकै हाराहारीको प्रौढताको शिखर छुन पुगेको थियो । देवकोटाले नेपाली भाषा साहित्यलाई विश्वसामु प्रभावकारी ढङ्गले चिनाएका थिए | 'अफ्रो एसियाली लेखक सम्मेलन' मा उनले नेपाली साहित्य विश्व साहित्यसँगै हातेमालो गरेर अगि बढ्ने विचार प्रस्तुत गरेका थिए । यो कुरा सहभागीको हृदय हल्लाउने गरी सारगर्भित पाराले यसरी व्यक्त गरेका थिए । नेपाली साहित्य हिउँ र पर्वतशृङ्खलाको भुलभुलैयामा बिलाउने छैन र विश्व साहित्यकै स्तरमा विकास हुने बताएका थिए । हाम्रो साहित्य पनि एउटै प्रवाहमा सम्मिलित भएर एसिया तथा अफ्रिकालाई परिवेष्टित गर्ने साहित्यको असीम महासागरमा मिल्ने उनको आँकलन थियो ।
उनको यो आत्मविश्वास प्रशंसनीय छ । यस महासागरद्वारा सिञ्चित त्यो साहित्य पहिलेभन्दा अझ बढी सुन्दर र सम्पन्न बनेर जलविन्दुका रूपमा फेरि हाम्रा पहाडमा नै बर्सने कुराबाट उनको नेपाली साहित्यप्रतिको प्रेम झल्किन्छ । वास्तवमा यस्तो व्यक्तित्व नेपाली साहित्यले पाउनुमा हामी गर्व गर्नै पर्छ ।
८. लक्ष्मीप्रसाद देवकोटाको साहित्यिक योगदानको समीक्षा गर्नुहोस् ।
➡ विराट् प्रतिभाशाली र महान् कवि लक्ष्मीप्रसाद देवकोटा (वि.सं.१९६६–२०१६) नेपाली साहित्यका अतुलनीय योगदान दिने चिरस्मरणीय स्रष्टा हुन् । नेपालको प्रकृति, नेपाली धर्ती, नेपाली संस्कृति र नेपाली भाषा साहित्यलाई मुटुदेखि नै माया गर्दै साहित्य सिर्जना गर्ने देवकोटा नेपाली साहित्यका युगपुरुष हुन्। त्रिचन्द्र कलेजबाट बी. ए. सम्मको शिक्षा हासिल गरेका देवकोटाले बिजुली वेगमा अनवरत साहित्य रचना गरे। देवकोटाले सङ्ख्यात्मक र गुणात्मक रूपले सर्वाधिक कृति रचना गरेर नेपाली साहित्यलाई समृद्ध तुल्याए ।
दरबार हाइस्कुल पढ्दादेखि नै कविता लेख्न सुरु गरेका देवकोटाले त्यसै बेला अङ्ग्रेजीमा कविता लेखेर समस्त शिक्षक र सहपाठी साथीलाई चकित पारिदिएका थिए । छाँगो छङछङाएझैँ बिजुली वेगमा कविता लेख्ने देवकोटा नेपाली भाषा साहित्यका स्वच्छन्दतावादी साहित्यकार हुन् । उनका शाकुन्तल, सुलोचना, महाराणा प्रताप प्रमिथस आदि प्रसिद्ध महाकाव्य हुन् । उनले मुनामदन, कुञ्जिनी र लुनी जस्ता दर्जनौँ खण्डकाव्य लेखे। उनले यात्री, पागल जस्ता सयौं कविता लेखे । उनले लेखेका साह्रै गहकिला निबन्ध लक्ष्मी निबन्ध सङ्ग्रह दाडिमको रुखनेरमा सङ्कलित छन् । उनको एउटा सावित्री सत्यवान भन्ने नाटक र चम्पा उपन्याससमेत प्रकाशित छ। वास्तवमा उनले लगातार चार दशकसम्म विभिन्न विधाका दर्जनौँ साहित्यिक कृति रचना गरी नेपाली साहित्यलाई समृद्ध तुल्याए । उनको कलमको जादुमय स्पर्शले नेपाली साहित्यले विश्व साहित्यकै हाराहारीको प्रौढताको शिखर छुन पुग्यो। उनले मुनामदनमार्फत् ओझेल परेको झ्याउरे छन्दलाई देवकोटाले नै शिखरमा पुऱ्याएका थिए।उनले तीन महिनामा शाकुन्तल महाकाव्य, १० दिनभित्रका ६० घण्टामा सुलोचना महाकाव्य र एकै रातमा कुञ्जिनी खण्डकाव्य लेखेका थिए । त्यसैले उनी आशुकवि हुन् । उनी त्रिचन्द्र कलेजका प्राध्यापक पनि भए । उनी २०१३ सालमा डा. के. आई. सिंहको मन्त्रिमण्डलमा शिक्षामन्त्री बने । देवकोटाले जे लेखे र जुन जुन जिम्मेवारी पाए, प्रायः ती सबैमा उनले राष्ट्रको हितमा काम गरेर आ नो अब्बलता प्रदर्शन गरे । देवकोटा आफूले हात हालेका हरेक क्षेत्रमा एक असल व्यक्तित्वका रूपमा चिनिए ।
उल्लिखित योगदानका कारण उनी नेपाली भाषा साहित्यमा सर्वोत्कृष्ट कविका रूपमा प्रख्यात छन् । उनले विश्व समुदायमा नेपाली जाति र भाषाको शिर उच्च पारेका थिए। क्यान्सरकै कारण मृत्युशैयामा छटपटाउँदा पनि उनले साहित्य सिर्जना गर्न छोडेनन् । देवकोटाको कवित्व प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय रहेको छ । नेपाली कविताको अहिलेसम्मको यात्रामा प्रतिभा, रचना परिमाण र उत्कृष्ट गुणस्तरका दृष्टिले देवकोटा सर्वोच्च कवि मानिएका छन्। उनको पार्थिव शरीर यस धर्तीमा नरहे पनि उनी आफ्ना अमूल्य कृतिमा अनवरत बाँचेका छन् र अमर बनेका छन् |
९. दिइएको अनुच्छेदबाट मुख्य मुख्य चारओटा बुँदा टिपी सारांश लेख्नुहोस् :
➡ बुँदा टिपोट:
- भाषाको काम समाजको तथा व्यक्तिको आवश्यकता पूर्ति गर्नु रहेको,
- नेपाली भाषामा अभिव्यक्ति क्षमता र नयाँ नयाँ शब्दलाई आत्मसात् गर्ने क्षमता रहेको,
- नेपाली भाषाका वक्तामा अरू भाषाका शब्द प्रयोग नगर्ने प्रतिबद्धता हुनुपर्ने,
- भाषा नेपालको मौलिक पहिचानसँग गाँसिएको हुनाले भाषिक आत्मनिर्भरतातिर हाम्रो सोच र प्रयास हुनुपर्ने ।
भाषाको काम समाजको तथा व्यक्तिको आवश्यकता पूर्ति गर्नु हो । नेपाली भाषामा अभिव्यक्ति क्षमता र नयाँ शब्दलाई आत्मसात् गर्ने क्षमता रहेको छ। नेपाली भाषाका वक्तामा अरू भाषाका शब्द प्रयोग नगर्ने प्रतिबद्धता हुनुपर्छ। भाषा नेपालको मौलिक पहिचानसँग गाँसिएको हुनाले भाषिक आत्मनिर्भरतातिर हाम्रो सोच र प्रयास हुनुपर्छ ।
१०. व्यक्तिवृत्तको ढाँचाबारे दिइएको अनुच्छेद अध्ययन गर्नुहोस् र माध्यमिक तहमा शिक्षक हुनाका लागि आवश्यक हुने विवरण समावेश गरी व्यक्तिवृत्त बनाउनुहोस् :
नाम : XXXXXXXXXXXXX
जन्म मिति : वि.सं XXXX-XX-XX
आमा / बुवाको नाम: XXXXXXXXXXXXXX / XXXXXXXXXXXXXXX
स्थायी ठेगाना : XXXXXX, XXXXXX, नेपाल
अस्थायी ठेगाना: XXXXXX, XXXXXX, नेपाल
शिक्षादीक्षा : शिक्षणशास्त्रमा स्नातकोत्तर
पेसा व्यवसाय तथा काम: शिक्षण
रुचि क्षेत्र: अध्ययन र अध्यापन
कामको अनुभव: XX वर्ष
तालिम: शिक्षक तालिम
सम्पर्क नम्बर: ९८XXXXXXXX
इमेल: xxx@gmail.com
हस्ताक्षर: …………….
११. लक्ष्मीप्रसाद देवकोटाको जीवनी पढेपछि तपाइँलाई भविष्यमा कस्तो व्यक्ति बनूँ जस्तो लाग्यो, लेख्नुहोस् ।
➡ लक्ष्मीप्रसाद देवकोटाको जीवनी पढेपछि मलाई भविष्यमा असल मान्छे बनूँ जस्तो लाग्यो । हुनत मसँग लक्ष्मीप्रसाद देवकोटासँग जस्तो अद्वितीय प्रतिभा त छैन तैपनि आफ्नो क्षमता र हैसियतले भेटेसम्म समाजको कुनै क्षेत्रमा योगदान पुऱ्याउने इच्छा बढेको छ । साहित्यिक र यस्तै कलाका क्षेत्रमा काम गर्न नसके पनि एउटा समाजसेवी भएर समाजको सेवा गर्न मन लाग्यो । हामीले व्यक्तिगत खुसी मात्र हेरेर नहुने रहेछ । एउटा सामाजिक र चेतनशील प्राणी भएको नाताले अरुको लागि पनि काम गर्नुपर्ने रहेछ । म पहिला त राम्रोसँग आफ्नो अध्ययनलाई पुरा गर्ने छु अनि एउटा सफल र असल मान्छे बनेर समाजको हितमा पनि लाग्ने छु ।१२. ‘देवकोटा छाँगो छड्छडाए झैँ कविता लेख्ने कवि हुन् भन्ने भनाइप्रति सहमति प्रकट गर्दै पाठक प्रतिक्रिया लेख्नुहोस् ।
➡ महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली भाषा साहित्यलाई मुटुदेखि नै माया गर्दै साहित्य सिर्जना गर्ने नेपाली साहित्यका युगपुरुष हुन् । छाँगो छङछङाए झैं विजुली वेगमा कविता लेख्थे । उनले लगातार चार दशकसम्म विभिन्न विधाका दर्जनौँ साहित्यिक कृति रचना गरी नेपाली साहित्यलाई समृद्ध तुल्याए । उनी कुरा गर्दागर्दै कविता लेख्न सक्थे । अझ भनौं, उनी कवितैकवितामा कुराकानी गर्न सक्थे । उनले तीन महिनामा 'शाकुन्तल' महाकाव्य, १० दिनभित्रका ६० घण्टामा 'सुलोचना' महाकाव्य र एकै रातमा 'कुञ्जिनी' खण्डकाव्य लेखेका थिए । । यिनै योगदानका कारण उनी नेपाली भाषा साहित्यमा सर्वोत्कृष्ट कविका रूपमा प्रख्यात छन् । प्रशस्त र गहकिला कविता, खण्डकाव्य, महाकाव्य जस्ता रचनाले गर्दा उनी महाकविका रूपमा सम्मानित छन् । उनी आशुकवि हुन् । उनी हिँड्दा हिँड्दै, बस्दा बस्दै धारा प्रवाह कविता लेखिदिन्थे । उनले छोटो समयमा मात्र लेखेनन्, स्तरीय र गहन कृतिहरु लेखे । त्यसैले छाँगो छङ्छङाए झैँ उनका कलमबाट सिर्जना फुरिरहन्थे भन्ने कुरामा दुई मत छैन ।१३. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) प्रश्नहरू(अ) चट्याङ भनेको के हो ?
➡ समुद्र सतहभन्दा १५ हजारदेखि २५ हजार फिटमाथि आकाशमा उत्पन्न विद्युत्को प्रवाह चट्याङ हो ।(आ) चट्याङ कसरी पर्छ ?
➡ जब बादलमा भएका कण आवेशित भएर धन र ऋण आवेशमा परिवर्तित हुन्छन् तब विद्युत् उत्पन्न हुन्छ । यो करेन्टले कहिलेकाहीँ पृथ्वीको सतहमा उच्च भोल्टेजले ठक्कर खान्छ र चट्याङ पर्छ ।(इ) चट्याङ परेका बेला गर्न नहुने काम के के हुन् ?
➡ चट्याङ परेका वेला अग्लो वस्तु, रुख, गाडी, खुला ठाउँ, झन्डा बाँध्ने पाइप वा बॉसनजिक र विद्युतीय वस्तुनजिक जानुहुँदैन ।(ई) चट्याङबाट हुने दुर्घटनाबाट कसरी बच्न सकिन्छ ?
➡ चट्याङबाट हुने दुर्घटनाबाट बच्न पक्की भवनमा आश्रय लिनुपर्छ।(ख) भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस् :
- (अ) 'पक्की भवनमा आश्रय लिनुपर्छ' वाक्यमा प्रयोग भएको कारक र विभक्ति लेख्नुहोस् ।
- (आ) अनुच्छेदबाट सरल र तिर्यक् कारक जनाउने दुई दुईओटा वाक्य टिपोट गर्नुहोस् ।
- (इ) अनुच्छेदबाट 'अ' प्रयोग भएका दुईओटा शब्द पहिचान गरी लेख्नुहोस् ।
१४. दिइएको सन्दर्भ पढ्नुहोस् र तोकिएको कार्य गर्नुहोस् :
माथिको अनुच्छेदमा जस्तै जागिरका लागि सहर पस्न लागेकी एक महिलाले राधिका मिश्रको उद्यमशीलताको यो घटना सुनेर अभिप्रेरित भई आफैँले 'साइकल मर्मत केन्द्र' खोलेको कुराको अभिनय गर्दै कक्षामा प्रस्तुति दिनुहोस् ।
भाषिक संरचना र वर्णविन्यास
२. दिइएका रेखाङ्कित शब्दको अर्थका आधारमा कारक चिनाउनुहोस् :
हरिले ➡ कर्ता कारकसिन्काले ➡ करण कारक
कान ➡ कर्म कारक
कान ➡ कर्म कारक
घरबाट ➡ अपादान कारक
अस्पतालमा ➡ अधिकरणकारक
अस्पतालमा ➡ अधिकरणकारक
डाक्टरले ➡ कर्ता कारक
उसलाई ➡ सम्प्रदान कारक
औषधी ➡ कर्म कारक
आजदेखि ➡ अपादान कारक
३. दिइएको अनुच्छेदमा रहेका रेखाङ्कित कारक सरल वा तिर्यक् के हुन्, पहिचान गरी कक्षामा छलफल गर्नुहोस् :
सुनिताले ➡ तिर्यक कारकअनितालाई ➡ तिर्यक कारक
म ➡ सरल कारक
तँ ➡ सरल कारक
पुस्तकालय ➡ सरल कारक
मलाई ➡ तिर्यक कारक
मुनामदन ➡ सरल कारक
पुस्तक ➡ सरल कारक
पुस्तकालयमा ➡ तिर्यक कारक
यो ➡ सरल कारक
किताब ➡ सरल कारक
यस ➡ तिर्यक कारक
किताबमा ➡ तिर्यक कारक
मुना ➡ सरल कारक
मदनको ➡ तिर्यक कारक
मदनको ➡ तिर्यक कारक
कथा ➡ सरल कारक
तैंले ➡ तिर्यक कारक
देवकोटाको ➡ तिर्यक कारक
कुञ्जिनी ➡ सरल कारक
खण्डकाव्य ➡ सरल कारक
त्यो ➡ सरल कारक
किताब ➡ सरल कारक
४. सरल र तिर्यक् कारक प्रयोग भएका तीन तीनओटा वाक्य लक्ष्मीप्रसाद देवकोटा' जीवनीबाट खोजेर लेख्नुहोस् ।
सरल कारकः
उनी कुरा गर्दागर्दै कविता लेख्न सक्थे । त्यहाँ उनी सिकिस्त बिरामी परे ।
तिर्यक् कारकःविराट् प्रतिभाशाली र महान् कवि लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका अतुलनीय योगदान दिने चिरस्मरणीय स्रष्टा हुन् । नेपालको प्रकृति, नेपाली धर्ती, नेपाली संस्कृति र नेपाली भाषा साहित्यलाई मुटुदेखि नै माया गर्दै साहित्य सिर्जना गर्ने देवकोटा नेपाली साहित्यका युगपुरुष हुन् । शिक्षित र पठित परिवारमा जन्मेका जीवनमा दुःख र सुखका अनेकौँ उकाली र ओराली भोगेका देवकोटाले किशोरावस्थादेखि नै स्तरीय कृति रचना गरे ।
५. अनुच्छेदबाट विभक्ति लागेका चारओटा शब्द टिपोट गरी तिनको कारक छुट्याउनुहोस् :
➡ कलेजमा: अधिकरण कारकघरबाट : अपादान कारक
विद्यार्थीलाई : सम्प्रदान कारक
मार्करले: करण कारक
६. सबै प्रकारका विभक्ति लागेका शब्द पर्ने गरी कुनै एक सङ्गीतकारका बारेमा लेख्नुहोस् ।
सङ्गीतकार कालीप्रसाद बास्कोटाले (कर्ता कारक) औँलाले (करण कारक ) गितार (कर्म कारक) बजाउँछन् । उनी एक दशकदेखि (अपादान कारक ) निरन्तर सङ्गीतमा (अधिकरण कारक ) लागेका छन् । उनले गीत गाएर श्रोतालाई (सम्प्रदान कारक) भरपुर मनोरञ्जन दिन्छन् ।
७. 'लक्ष्मीप्रसाद देवकोटा' जीवनीबाट 'छ्य' र 'क्ष' प्रयोग भएका चार चारओटा शब्द टिपोट गरी लेख्नुहोस् ।
'छ्य' प्रयोग भएका शब्द: छन्, छाएको, छिया, इच्छा,
'क्ष' प्रयोग भएका शब्दः लक्ष्मीप्रसाद, नक्षत्र, शिक्षित, शिक्षक ।
८. दिइएका 'छ्य' र 'क्ष' प्रयोग भएका शब्द पर्ने गरी छोटो अनुच्छेद लेख्नुहोस् :
➡ सुप्रिया गुलाबी पछ्यौरी ओढेर विद्यालय आएकी थिइन् । उनलाई बाटोमा गाडीले हिलोले छ्यापेछ । चिसो लागेर होला, उनी हाछ्युँ पनि गरिन् । कक्षामा उनलाई सबैले माया गर्छन् । उनको शिक्षा यही विद्यालयबाट सुरु भएको हो । उनको बुबाआमा पनि शिक्षित हुनुहुन्छ । उनीसँग बिताएका हरेक क्षण अविस्मरणीय छन् । उनी भविष्यमा दक्ष व्यक्ति बनेर समाजको रक्षा गर्ने छिन् भनेर सबैले आशा गरेका छौं ।
९. दिइएको अनुच्छेदलाई शुद्ध गरी पुनर्लेखन गर्नुहोस् :
➡ ज्ञवाली सरले कक्षामा आएर नेपाली भाषा र साहित्य पढाउनुभयो । उहाँको सिकाउने तरिका गजबकै छ । उहाँले पढाएको त छ्याङ्गै बुझिन्छ । दिनेश, उमेश र ऋषिलाई पनि उहाँले पढाएको साह्रै मन पर्छ रे।
COMMENTS